काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को काठमाडौँमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन आज (बुधबार) २५ समूहले रिपोर्टिङ (सम्प्रेसण) गर्ने कार्यक्रम रहेको छ । 

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो । 

OM Sai Pathibhara Hospital

समूहगत छलफलका लागि २५ समूह बनाइएको थियो । आज २५ टोलीले निष्कर्ष र सुझाव पेस गर्ने छन् । प्रत्येक समूहका लिडरलाई १५ मिनेट समय दिइएको छ । 

आज (बुधबार) २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्ष दाहालले जवाफ दिनेछन् । छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने तयारी रहेको बताइएको छ । 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।
पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।

महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।