झापा / नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम  आज बिर्तामोडमा सम्पन्न भएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरे पश्चात शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो । 
नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं काङ्ग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका  थिए । थेवेले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराएका थिए । नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवं बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराएका थिए।
सो क्रममा प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले महाधिवेशनमा देखिएको गुटउपगुट अन्त्य गरेर नेता –कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिए ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई शुभकामना दिदै नेता सिटौलाले भन्नुभयो –‘नेता–नेताबीच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनिमात्रै कांग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’
१४ औं महाधिवेशनबाट पार्टीमा युवाहरूको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले बिचार दिएर संगठन अघि बढाउन नसके चुनौती थपिने धारणा राखे ।

OM Sai Pathibhara Hospital


नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्धव थापाले नेपाली कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच ब को नीतिको कार्यान्वयन एवं गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।
थापाको कार्यकालमा विचार, ब्यवहार,  ब्यवसाय, विकास र विपदमा कांग्रेस भन्ने पाँच ब को नीति अघि सार्दै झापा कांग्रेस एवं भातृ संगठनहरुलाई सशक्त बनाइएको थियो ।
कांग्रेसको संगठन कमजोर भएर विगतको निर्वाचनमा कांग्रेसका उम्मेद्वार पराजित नभएको दावी गर्दै सभापति थापाले प्रदेश १ कै सङ्गठनलाई गुटरहित बनाउने र कार्यक्षमता एवं क्रियाशीलताको आधारमा कार्यकर्तालाई अवसर दिने उद्घोष गरे ।
नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताए । कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिँड्ने वातावरण निर्माण गर्ने उहाँको प्रतिबद्धता छ ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद महेन्द्राकुमारी लिम्बू, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, काङ्ग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेल लगायतले बोलका थिए ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन समितिका सदस्य यज्ञप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रम तीनचरणमा विभाजन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाई, निवर्तमान सचिव प्रेम सम्बाहाम्फे र निर्वाचन समिति सदस्य एवं प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेलीले संयुक्त रुपमा गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

कांग्रेसको पहिलो बैठकका निर्णय

यसैबीच नेपाली कांग्रेस झापाको सोमबार सम्पन्न पहिलो बैठकले यही पुस १६ गते पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
यसैगरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं वी।पी। कोइरालाका सहयोद्धा आदिबासी नेता तुर्सा हेमरमको स्मृति दिवस पुस २० गते मनाउने, पुस २५ गते केन्द्रीय महामन्त्रीमा निर्वाचित झापाका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, प्रदेश सभापतिमा निर्वाचित उद्वव थापा एवं प्रदेश सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पहिलो बैठकले नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपविजयी बन्नुभएका सभापतिका उम्मेद्वार राम कट्टेललाई कांग्रेसको विधान बमोजिम जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव कृष्ण हुमागाईले जानकारी दिएका छन ।
१४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न वार्डदेखि जिल्ला तहसम्म खटिने निर्वाचन अधिकृत, सहायक अधिकृत, सहयोगी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज एवं सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिएका छन ।
यसैगरी बैठकले क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ÷नगर कार्यसमितिका बैठक यथाशिघ्र सम्पन्न गरी पार्टी सङ्गठनलाई सशक्त बनाउने, टोल समिति गठन, बुथ समिति गठनलाई तिब्रता दिने र उमेर पुगेका मतदाताहरुको नामावली अध्यावधि गर्ने कार्य अघि बढाउने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।