काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)को ८औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । 

बन्दसत्र काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । आइतबार प्रज्ञा भवनमै माओवादी अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । 

OM Sai Pathibhara Hospital

बन्दसत्रका लागि सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन अध्यक्षमण्डलमा रहेका छन् । 

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरू पेस हुने र ती प्रतिवेदनहरूमा समूहगत छलफल हुने बताइएको छ । 

समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २८ समूहमा विभाजन गरिएको छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । 

एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

माओवादी केन्द्रको अध्यक्षमा कसैले दावी नगरेका कारण निर्विकल्प प्रचण्डनै दोहोरिने निश्चित छ भने अन्य पदहरूमा भने आकांक्षी धेरै छन् ।