काठमाडौँ / नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुँदै छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरू पेस हुने र ती प्रतिवेदनहरूमा समूहगत छलफल हुने माओवादी नेता जनार्दन शर्माले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

त्यस्तै समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २० भन्दा बढी समूहमा विभाजन गर्ने तयारी छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ ।

एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरूमा भने आकांक्षी धेरै छन् । 

सुरुमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताइएको थियो। पछि प्रतिनिधिको संख्या १६ सय ३८ बनाइएको थियो। अहिले फेरि १७ सय गराइएको हो।