पछिल्लो समयमा दमदार भाषण र वाककलाका कारण राष्ट्रिय राजनितीमा चर्चामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनमाथि सर्वसाधारणको करोडौं मुल्यको जग्गा अन्यायपूर्वक बलजफ्ती हडपेको आरोप लागेको छ । स्वचछ छवि र ईमान्दार नेताका रुपमा चिनिएका नेता लिंङ्देनमाथि  अर्जुनधारा नगरपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको करिव १० करोड मूल्यको एक विगाहा तिन कठ्ठा जग्गा कब्जा गरेको आरोप लागेको हो ।

गत निर्वाचनमा कांग्रेसका स्थापित नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाबाट प्रतिनिधीसभा सदस्य बनेका लिङ्देन सदन र सार्वजनिक स्थानमा गर्ने भाषण र प्रस्तुतीका कारण राष्ट्रिय राजनितीमा चर्चामा आएका थिए । पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता कमल थापालाई पराजित गरेसँगै उनको राजनितीक उचाईसँगै चर्चा समेत थप चुलिएको छ ।

भ्रष्टाचार , अपराध , बिकृतीविंसगतीको विरोधमा चर्का भाषण गर्ने गरेका उनी फरक विचारका नेता भएपनि आमनागरिकले रुचाएका नेतामा पर्दछन् । आफू पार्टी अध्यक्ष भए लगत्तै केही दिन अघि भएको कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा जनताले नेतालाई चोर भनेको र नेता विग्रिएको भनेर दिएको अभिव्यक्ति कारण उनी यतिबेला चर्चाको शिखरमा रहेका छन् । भ्रष्टाचार र अपराध गर्नु आमाको खुन खानु सरह भएको भनेर पटक पटक भाषण गर्ने गरेका तिनै चर्चित नेता लिङ्देन माथि झापाको एक निम्न वर्गिय परिवारले आफ्नो जग्गा कब्जा गरेर अन्याय गर्दै बिचल्नी बनाएको आरोप लगाएको छ ।

सत्ता , शक्ति र बलको प्रयोग गरेर लिङ्देनले कानुनी रुपमा आफ्नो परिवारको नाममा भएको जग्गा बलजफ्ती कब्जा गरेको सो परिवारले दावी गरेको छ । विक्रम सम्वत २०२५ सालदेखि आफ्नो परिवारले जोतभोग गदैै आएको र आफ्नो नाममा दर्ता कायम रहेको जग्गा जालसाँझी गरी आफ्नो नाममा दर्ता गराउने  भूपू प्रधानपन्च गोबीन्द बस्नेतसँग मिलेर लिङ्देनले आफ्नो नाममा लगेर हडपेको सो सो परिवारले दावी गरेको हो । बस्नेतकी  श्रीमती विष्णु कुमारी बस्नेतको नामबाट लिङ्देनले आफ्नो नाममा लगेर अन्याय गरेको सो परिवारकी जेष्ठ सदस्य ८० वर्षीया खिनमाया कट्टेले आरोप लगाएकी छन् । उनले आफ्ना श्रीमान गजाधर कट्टेलले २५ सालदेखि जोतभोग गरेको र आफ्नै श्रीमानको नाममा जोतभोगका आधारमा दर्ता कायम रहेको जग्गा जालसाज पूर्वक भूपू प्रधानपञ्च बस्नेत र लिङ्देन मिलेर हडपेको उनले दावी समेत गरेकी छन् ।

उनले बस्नेतसँग जग्गाको विवाद रहेको जानकारी रहेकै समयमा लिङ्देनले जग्गा आफ्नो नाममा लगेर बलजफ्ती संरचना बनाएर आफ्नो परिवारको बिचल्नी बनाएको उनले दावी गरेकी छन् । आफ्नो परिवारसँग सो जग्गाको धनीपुर्जा र अन्य कागजात रहेको अनि जोतभोग पनि गर्दै आएको समयमा नेता लिङ्देनले जग्गा कब्जा गरेर आफ्नो परिवारको उठिबास लगाएको आरोप लगाएकी हुन् । पटक पटक अनुरोध गर्दा पनि लिङ्देन आफ्नो परिवारमाथि न्याय गर्नुको सट्टा थप पिडा मात्रै दिएको उनले दखेसो समेत गरेकी छन् ।

उनका छोरा   डिल्लीराम कट्टेलले बस्नेतले जालसाझ गरी आफू सत्तामा रहेको समयमा आफ्नो परिवारको भोगाधिकार रहेको जग्गा अर्को गाउपालिकाबाट दर्ता गराएको र त्यहि किर्तेकागजातका भरमा लिङ्देनलाई दिन लागेको सुचना पाएपछि आफुले जानकारी गराउँदा समेत लिङ्देनले न्याय गर्नुको साटो आफ्नो नाममा लगेर जग्गा हडपेको दावी गरेका छन् ।

उनले सबै कूरा थाहा पाउँदा समेत लिङ्देनले जग्गा आफ्नो नाममा सारेर आफू समर्थित समूहको बलप्रयोग गरी हडपेको बताएका छन् । उनले लिङ्देनलाई आफु र आफ्नो परिवारले पटक पटक अन्यायमा परेको भनेर न्यायका लागि भिक माग्दा समेत सुनुवाई र सहयोग गर्नुको साटो आफू समर्थित युवा प्रयोग गरेर आफ्नो परिवारले जोतभोक गरेर जिविकोपार्जन गर्दै आएको जग्गा कब्जा गरेको बताएका छन् ।

लिंङ्देनले जग्गा कब्जा गर्ने क्रममा खटाएका मान्छेको समूहले आफ्ना बुबामाथि हातपात र आक्रमण समेत गरेको दावी समेत गरेका छन् । आफ्ना बुबाले वर्षौ जोतभोग गरेको जमिन गुमाउँदा पिडाका कारण मानशिक सन्तुलन गुमाएको र तनावकै कारण आफ्ना बुबाको मृत्यु भएको गम्भिर आरोप समेत लगाएका छन् ।

आफु र आफ्नो परिवारले पटक पटक न्यायका लागि अनुरोध गर्दा वेवास्ता गर्दै बुबामाथि नै खनजोत गरिरहेको समयमा आक्रमण भएपछि कानुनी सहायतका लागि अदालत पुगेको समेत सुनाएका छन् । अदालतमा मुद्धा परेपछि पनि अदालतको आदेश विपरीत लिंङ्देनले जग्गा कब्जा गर्न पुर्ने काम र संरचना बनाएको दावी समेत गरेका छन् । 

स्वच्छ र इमानदार नेताका रुपमा राष्ट्रिय राजनीतिमा स्थापित बनेका नेता लिङ्देनका विषयमा अदालतमा परेको मुद्धा समेत फैसलामा ढिलाई भएपछि कट्टेल परिवारको बिजोग भएको छ । आफ्नो स्वामित्वमा रहेको जग्गामा न त कट्टेल परिवारले खनजोत नै गर्न पाएको छ , न त बिक्री गरेर अन्य काम गर्न नै सकेको छ ।

आफ्नो परिवारको नाममा रहेको सम्पती नै हडपेको आरोप खेपीरहेका लिङ्देनसँग अहिले पनि सो परिवारका सदस्यले न्यायको भिक मागिरहेका छन् । तर देशका नागरिकलाई न्याय दिने , बिकृति , विसंगति , भ्रष्टाचारको समूल रुपमा अन्त्य गर्ने र नयाँ मुलुक बनाउने शंखघोष गरिरहेका नेता लिङ्देनमाथि लागेको यो आरोपले उनलाई समेत गिज्याईरहेको छ ।

एउटा निम्नवर्गिय परिवारमाथि धनको लालसाले न्याय गर्न नसकेका लिङ्देनले आम नागरिक र देशमाथि कसरी न्याय गर्छन भनेर स्थानियले प्रश्न उठाउन थालेको भएपनि सत्ता , शक्ति र राजनीतिमा उनको प्रभावका कारण यो विषय सार्वजनिक हुन सकेको थिएन । कट्टेल परिवारका सदस्यले न्याय खोज्दै आफु सँग भएका कागजात बोकेर नेताका घरदैलो चहार्न थालेको पनि करिव ८ वर्ष भईसकेको छ । आफ्नो जोगाधिकार कायम रहेको अनि पुर्जा समेत आफ्नो नाममा रहेको जग्गा पाउन संघर्ष गरिरहेको कट्टेलमाथि नेता लिङ्देनले कसरी न्याय दिने हुन त्यो त भविष्यमा नै थाहा हुनेछ ।