काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै उद्घाटन सत्र सुरु भएको हो । 

यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीको शनिबारको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गरिएको हो ।

OM Sai Pathibhara Hospital

उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाहीलगायत सहभागी छन् ।

महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । 

जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।

यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । 

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व रहेको छ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहेको माओवादीको भनाइ छ । 

माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको थियो ।