काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । 

अध्यक्ष दाहालले फोन गरेर ओलीलाई निम्ता गरेका थिए । तर, ओलीले आफू झापामा भएको भन्दै सम्मेलनमा सहभागि नहुने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

फोन वार्ताकै क्रममा दाहाललाई अध्यक्ष ओलीले समारोहमा सहभागि हुन पार्टीका महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मलले जानकारी दिए । 

अध्यक्ष दाहालले एमालेले चितवनमा आयोजना गरेको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएका थिए । 

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ ।

यसअघि पार्टी अध्यक्ष प्रचण्डले १ बजे महाधिवेशनको उद्घाटन गर्ने भनिए पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने र अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि बोलाइने भएकाले महाधिवेशनको समय दुई घण्टा धकेलिएको हो। 

उद्घाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरूलाई निम्तो दिएको छ ।