काठमाडौँ  / कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पार्टीका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाको वरियता २० औँ नम्बरमा रहेको छ । 

शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठक अघि निर्धारण गरिएको वरियतामा १४ औँ महाधिवेशनमा सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई २० औं नम्बरमा राखिएको हो । 

OM Sai Pathibhara Hospital

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औं नम्बरमा थियो । १४ औं मा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थान माथि आएका छन् ।  

कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापति पछिको वरियता दिने गरिएको थियो । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो ।

सभापति पछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो । तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धा मा दोस्रो भएको शेखरलाई २० औं नम्बरमा राखिएको छ  । 

देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् । वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन् ।