जनकपुरधाम / नेपाली कांग्रेसको प्रदेश २ को उपसभापतिमा कृष्ण यादव प्यानलका वीरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । 

गएराति सम्पन्न पदाधिकारीको मतगणना परिणाम अनुसार यादवले ८९५ मत पाएका छन् भने सिंहले १०१९ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

उनीहरूका प्रत्यासी विमलेन्द्र निधि र कोइराला समूहका समर्थन पाएका धनलाल ठोकरले ६३६, विनोद कुमार खनालले ७४० र राधा प्रसाद यादव १२४ मत ल्याएका थिए ।

शुक्रबार बिहान निधि–कोइराला पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले पराजित गर्दै देउवा पक्षका कृष्ण यादव विजयी भएका थिए।

पदाधिकारीको मतगणनामा सभापतिसहित ८ वटै पदमा संस्थापन पक्षका कृष्ण यादवको प्यानल विजयी भएको छ। 

महामन्त्रीमा उपेन्द्र कुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भए।

निर्वाचन समितिका अनुसार उपेन्द्रले ९५९ र बृहस्पतिले ७८८ मत प्राप्त गरी महामन्त्रीमा विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नरेश यादवले ७७५, हरेश प्रसाद महतोले ७०३ र बिनोद चौधरीले १९५ मत ल्याए।

त्यसैगरी सहमहामन्त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव विजयी भइन्।

जय नारायणले ८७९ र परशुरामले ८२२ मत ल्याएर र्निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नारायण चौधरीले ६०१, अरबिन्द अमात्यले २५७, बिनोद कुमार यादवले ६९१ र रामनारायण महासेठले ९७ मत प्राप्त गरे।

महिलातर्फ सहमहामन्त्रीमा बिन्दु कुमारी यादवले ८८९ मत प्राप्त गरि विजयी भइन् भने उनका प्रतिद्धन्द्धी भिमादेवी शर्माले ५३२, रिता यादवले १५६ र रेखादेबि महरानले ७६ मत ल्याइन्।