काठमाडौँ  / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।  

नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको छ ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक/एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ । 

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ । 

कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ ।