काठमाडौं / युएईमा जारी प्रतियोगिता एसीसी यू - १९ एसिया कप अन्तर्गत नेपालले आज बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।

समूह ‘बी’ मा रहेको नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

OM Sai Pathibhara Hospital

नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यू -१९ एसिया कपमा अहिलेसम्म बङ्गलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलङ्कामा भएको यू -१९ एसिया कपमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ ।

प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका गुल्सन झासहित घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कप्तान देव, अर्जुन कुमाल, अर्जुन साउद, विवेक यादव लगायत खेलाडी नेपाली टिममा छन् ।