सल्यान  / सल्यानको दार्मा गाउँपालिका –२ पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्रीको हत्याको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ ।

गत मंसिर २० गते छिमेकीको विवाह भोज खान गएका खत्रीको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसी रहेका छन् । 

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले बताए ।

आरोपी सबैलाई इलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले रामबहादुर, कुलबहादुर र लक्ष्मण खत्रीलाई मंसिर २७ गते पक्राउ गरेको र वडाध्यक्ष खत्रीलाई पुस ५ गते पक्राउ गरेको हो ।

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडा अध्यक्ष केसीले चलाउँदै आएको दार्मा गाउँपालिकाको लू ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।