झापा / ठेकेदारले तोकिएको समयमा विद्युत लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट सञ्चालन हुने विभिन्न कार्य अलपत्र परेका छन् ।
विद्युती करण नहुँदा संघीय तथा प्रदेश सरकारको लगानीमा सञ्चालन हुने विभिन्न योजना पनि अलपत्र परेका हुन् ।
११ के भी प्रसारण लाइनको पोल गाडेको तीन वर्षसम्म पनि विद्युत लाइन विस्तार नहुँदा यसबाट सञ्चालन हुने कार्यमा बाधा पुग्दै आएको छ ।
खलङ्गा – बाहुन थाना, पाँच काटिया हुँदै कुशे गाउँपालिकाको विभिन्न ठाउँमा लाइन विस्तारका लागि तीन वर्षदेखि काम नहुँदा विद्युत्बाट हुने काममा बाधा पुगेको हो ।
विद्युतीकरणको अभावमा २० लाख रुपैयाँमा स्थापना गर्न लागेको प्रि फ्याब प्राविधिकको कोल्डस्टोर शीत भण्डार स्थापनामा चुनौती थपिएको छ ।
कृषि विकास कार्यालय, जाजरकोटले फलफूललाई सुरक्षित बनाउका लागि सहकारी संस्थाबाट प्रस्ताव गत भदौमा मागेको थियो ।
कार्यलयले मागेको मापदण्डमा फेज लाइन वा विद्युत सञ्चालन हुने क्षेत्र भनी उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएका थिए ।
फेरि कार्यलयले सोही मापदण्ड राखेर पुस ७ गते दोस्रो पटक सूचना प्रकाशित गरेको छ ।
दोस्रो पटकको पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत नपुगेकाले असफल हुने हो कि भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा किसान शक्तिबहादुर ओलीले बताएका छन ।
‘विद्युत नभएको ठाउँमा शीत भण्डार सञ्चालन हुन सक्दैन’, कृषि विकास कार्यालयका प्रमुख रवीन धितालले भने, ‘पहिला पनि प्रस्ताव माग गरिएको रहेछ, तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरि पनि प्रस्ताव माग गरेका छौं, मापदण्ड पुगे काम हुन्छ । नत्र बजेट फिर्ता जान्छ ।’
त्यस्तै, अघिल्लो वर्ष दूध डेरी स्थापना गर्ने भन्दै पन्चासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमाटीले १६ लाख रुपैयाँमा खरिद गरिएको उपकरण विद्युतकै अभावमा सञ्चालन गर्न सकेको छैन । पशु अस्पताल तथा पशुसेवा कार्यलयको अनुदानमा उक्त उपकरण सहकारी संस्थाले खरिद गरिएको थियो ।
दूध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ, डाडाँगाउँलाई केन्द्रमा राखेर उक्त मेसिन जडान गरिए पनि कामविहीन भएको छ ।
सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्या भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्नका लागि पहल सुरू भएको प्रबन्धक किशोर रावलले बताए ।
जिल्लास्थित सरकारी कार्यलयको अनुदान सहयोगमा सञ्चालन हुने विभिन्न कार्यक्रम विद्युतीकरणको अभावमा अलपत्र पर्ने गरेको छ ।
त्यस्तै, जिल्लाभरिका स्थानीय तहलेसमेत विभिन्न प्रविधिसँग जोडिएका किसान मैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुनेगरेको गुनासो गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले निर्माण व्यवसायीलाई कारबाही गर्नुको ठाउँमा संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिलेसम्म सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ ।
जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्तिलाई फाइदा पुग्ने गरी ठेक्का दिँदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्वसाधारणको गुनासो छ ।
शिवालय, जुनिचाँदे, नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्षपछि बल्ल काम गर्ने भन्दै दुई दिनअघि निर्माण व्यवसायी तेजविक्रम शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लगेको जाजरकोट वितरण केन्द्रका प्रमुख अविषेक राजले बताए ।
ठेकेदारले केही सामग्री तीन वर्षअघि बुझेर लिए पनि जथाभावी फ्याँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ ।
लाइन विस्तारका लागि सबै सामग्री आइसकेकाले अब बहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाई नभएको प्रमुख अविषेकले बताए । त्यस्तै जिल्लाका बडावन, समाइला, चौखामा निर्माण गर्ने भनिएका सवस्टेसनको कामसमेत धिमा गतिमा भएकाले जिल्लाको विद्युतीकरणमा समस्या देखिएको हो ।