काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले मंगलबार एकैदिन ठूलो उछाल लिएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको सुनको भाउ मंगलबार प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।एकैदिनको ठूलो वृद्धिसँगै सुनको मूल्य फेरि ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यससँगै नेपाली बजारमा सुनको मूल्य फेरि तीव्र गतिमा उकालो लागेपछि सुन किन्ने उपभोक्तामाथि थप मूल्य भार परेको छ भने व्यवसायीहरूले समेत बजारको उतारचढावलाई नजिकबाट नियालिरहेका छन् ।