काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने भएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको प्रदर्शनी आगामी आइतवारसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार यस वर्षको एक्स्पोमा ५५ ब्रान्डको सहभागिता रहनेछ। विद्युतीय सवारीसाधन (ईभी), दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित नवीनतम प्रविधि र सेवाहरू प्रदर्शनीमा समावेश गरनेछन्।

विशेषगरी ईभी प्रविधिमा आधारित नयाँ मोडलहरू यसपटकको प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ। नेपाली बजारका लागि नयाँ मोडल सार्वजनिक गर्ने प्रमुख मञ्चका रूपमा एक्स्पो स्थापित हुँदै गएपछि यस वर्ष लन्च हुने सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढेको आयोजकको भनाइ छ। गत वर्षको तुलनामा सहभागी ब्रान्डको संख्या पनि वृद्धि भएको छ।

प्रदर्शनी अवधिभर विभिन्न कम्पनीहरूले विशेष छुट, एक्सचेञ्ज अफर, सहज फाइनान्सिङ सुविधा तथा अन्य ग्राहकमुखी योजना सार्वजनिक गर्ने तयारी गरेका छन्। यसले उपभोक्तालाई एकै स्थानमा विभिन्न ब्रान्डका सवारी तुलना गरी आफूअनुकूल विकल्प छनोट गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। अर्थतन्त्रमा देखिएको सुस्तीका बीच अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउने, नयाँ प्रविधिको प्रवर्द्धन गर्ने तथा उपभोक्तालाई नवीनतम सवारीसाधनसँग परिचित गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको नाइमाले जनाएको छ।

नेपालको अटोमोबाइल क्षेत्रको महत्वपूर्ण प्रदर्शनीका रूपमा स्थापित यस एक्स्पोलाई यस वर्ष अझ भव्य र व्यापक बनाइएको आयोजकको दाबी छ।