जनकपुर / नेपाली तथा मैथिली साहित्यका अग्रणी स्रष्टा डा. राजेन्द्र विमलको निधनसँगै दुई भाषाको साहित्यिक जगत्ले एक प्रभावशाली सर्जक गुमाएको छ।

७९ वर्षको उमेरमा मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ।सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। उनको अन्त्येष्टि आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिने परिवारले जनाएको छ।

डा. विमल विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई आफ्ना सिर्जनामार्फत नेपाली साहित्यमा स्थापित गर्ने स्रष्टाका रूपमा परिचित थिए। नेपाली र मैथिली दुवै भाषामा उनको उल्लेखनीय योगदान रहेको साहित्यिक वृत्तले बताउँदै आएको छ।

उनको निधनले नेपाली तथा मैथिली साहित्यले लामो समयसम्म सक्रिय रहेका एक प्रतिष्ठित साहित्यकारलाई गुमाएको छ। साहित्य, संस्कृति र मिथिलाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न उनले पुर्‍याएको योगदान स्मरणीय रहने साहित्यिक क्षेत्रको भनाइ छ।

स्वर्गीय डा. राजेन्द्र विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभका जेठा दाजु पनि हुन्।