काठमाडौं / सानिगाड हाइड्रो लिमिटेडले ऋणसम्बन्धी वित्तीय खर्च उल्लेख्य रूपमा घटाउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा वित्तीय खर्च ५७ करोड ५१ लाख रुपैयाँबाट घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ। एक वर्षमै करिब १७ करोड रुपैयाँ खर्च बचत हुँदा कम्पनीको खुद नाफा ३९०.१५ प्रतिशतले बढेर २६ करोड ५८ लाख रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४२ लाख रुपैयाँ थियो।

विद्युत् बिक्रीबाट प्राप्त आम्दानी पनि ३.६९ प्रतिशतले वृद्धि भई १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। साथै कम्पनीले अन्य आम्दानीतर्फ १ लाख ७० हजार रुपैयाँ आर्जन गरेको जनाएको छ। सञ्चालन खर्चमा समेत कम्पनीले नियन्त्रण कायम राखेको छ। अघिल्लो वर्ष २ करोड ५१ लाख रुपैयाँ रहेको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

नाफा बढेसँगै कम्पनीको सञ्चित नाफा  (रिजर्भ) पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ९ करोड १२ लाख रुपैयाँ रहेको रिजर्भ बढेर ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। २ अर्ब ८५ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)  २.७२ रुपैयाँबाट बढेर ९.३३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ पुगेको छ।

कम्पनीले ऋणको लागत घटाउँदै वित्तीय व्यवस्थापनमा सुधार गरेसँगै नाफा, रिजर्भ र प्रतिसेयर आम्दानीमा सकारात्मक प्रभाव परेको वित्तीय विवरणले देखाएको छ।