काठमाडौं । वर्षौंदेखि बन्द तथा घाटामा चलिरहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको अभियानलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गरेका छन् ।

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको विषयलाई सकारात्मक भन्दै प्रचण्डले सरकारको कदमको प्रशंसा गरेका हुन् ।प्रचण्डले हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने बताएका छन् । सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सञ्चालन गर्नुपर्ने उनको जोड छ ।

हेटौँडा कपडा उद्योगसँगै गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत रुग्ण सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय आफू नेतृत्वको सरकारले अघि बढाएको प्रचण्डले स्मरण गरेका छन् ।

सरकारले भने सार्वजनिक संस्थानमा सुधार सुरु भएको दाबी गरेको छ । प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेको विवरणअनुसार दुग्ध विकास संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेर दैनिक राजस्व औसत ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ । किसानको बक्यौता भुक्तानी चक्रसमेत छोट्याइएको सरकारको दाबी छ ।

त्यस्तै, नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको सरकारको विवरणमा उल्लेख छ ।

नेपाल वायुसेवा निगमको आम्दानीमा पनि सुधार आएको दाबी गरिएको छ । गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आम्दानी १ अर्ब १० करोड रुपैयाँभन्दा बढीले बढेको बताइएको छ ।

सिंहदरबार वैद्यखानाको कारोबारमा समेत वृद्धि भएको सरकारको दाबी छ । सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरका आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण भएको र पछिल्लो आर्थिक वर्षमा कारोबार करिब १३ करोड रुपैयाँ पुगेको बताइएको छ ।

यसरी वर्षौँदेखि थलिएका सार्वजनिक संस्थानलाई पुनः प्रतिस्पर्धी बनाउने सरकारी दाबीबीच प्रचण्डको समर्थनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले भने उद्योग पुनः सञ्चालन मात्र नभई त्यसलाई दिगो, व्यावसायिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।