काठमाडौं । नेपाली कांग्रेसले खाना पकाउने ग्यासको विकल्पमा विद्युत्को प्रयोग बढाउन सरकारसँग माग गरेको छ । कांग्रेसले विद्युत् खपतमा लगाइएका सबै अतिरिक्त कर तत्काल हटाउन, इन्डक्सन चुलोलगायत विद्युतीय उपकरणमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति लागू गर्न माग गरेको हो ।
कांग्रेसको केन्द्रीय समिति बैठकले जनजीविकासँग जोडिएका विषयमा छलफल गर्दै ग्यास अभावको दीर्घकालीन समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहने भएकाले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको निर्भरता क्रमशः घटाउने नीति आवश्यक रहेको कांग्रेसको भनाइ छ ।
कांग्रेसले सरकारले पर्याप्त तयारी र सरोकारवालासँग छलफल नगरी ग्यास सिलिन्डरमा पुनः १४.२ किलो ग्यास भर्न निर्देशन दिएको आरोप लगाएको छ । ग्यासको स्टक, आयात हुने परिमाण, आयात क्षमता र बजारको आवश्यकताको अध्ययन नगरी गरिएको निर्णयले अभाव झन् बढाएको कांग्रेसको दाबी छ । यसलाई कांग्रेसले ‘स्टन्टबाजी’ र सस्तो लोकप्रियताको प्रयास भनेको छ ।
ग्यास अभाव समाधानका लागि कांग्रेसले ग्यास आयात दोब्बर बनाउन, पर्याप्त भण्डारण सुनिश्चित गर्न र आपूर्ति सञ्जाल व्यवस्थित बनाउन सरकारसँग माग गरेको छ । तदर्थ निर्णयभन्दा दीर्घकालीन रूपमा सहज र नियमित ग्यास आपूर्ति सुनिश्चित गर्नुपर्ने उसको भनाइ छ ।
त्यससँगै कांग्रेसले विद्युत् प्रयोगलाई निरुत्साहित गर्ने गरी कर थपिएको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाएको छ । एकातिर ग्यास विस्थापन गरेर स्वच्छ ऊर्जा प्रयोग गर्न प्रोत्साहन गर्ने र अर्कोतिर विद्युत् खपतमा कर लगाउने सरकारी नीति विरोधाभासपूर्ण रहेको कांग्रेसको आरोप छ ।
कांग्रेसले इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा पुनः सहुलियत दिन र विद्युत्को प्रयोग बढाउने स्पष्ट ऊर्जा नीति तत्काल लागू गर्न माग गरेको छ ।
मल अभावमा पनि सरकारमाथि प्रश्न
कांग्रेसले रासायनिक मलको अभाव, कालोबजारी र बिचौलियाको समस्या पनि उठाएको छ । मुख्य बाली लगाउने सिजनमै किसानले अनुदानको मल सहज रूपमा नपाएको भन्दै तत्काल आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ ।
मलको खोजीमा सीमावर्ती भारतीय बजारसम्म पुग्नुपर्ने र कतिपय नेपाली किसानले त्यहाँ जेल सजायसमेत भोग्नुपरेको कांग्रेसको भनाइ छ । साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने व्यवस्था गर्न तथा कालोबजारी र बिचौलियाको अन्त्य गर्न पनि कांग्रेसले माग गरेको छ ।
महँगी र आपूर्ति व्यवस्थामाथि पनि प्रहार
कांग्रेसले सरकारको असक्षमताका कारण यातायात क्षेत्र अस्तव्यस्त बनेको र बजारमा बिचौलियाको प्रभाव बढेको आरोप लगाएको छ । ग्यास अभाव, विद्युत्मा कर वृद्धि र कमजोर आपूर्ति व्यवस्थाका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेर आम नागरिकको भान्सा महँगिएको उसको दाबी छ ।
दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति प्रणाली प्रभावकारी र पारदर्शी बनाउन तथा बजार अनुगमन तीव्र पार्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेसले सरकार जनजीविकाका वास्तविक समस्या समाधान गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा केन्द्रित भएको आरोपसमेत लगाएको छ । आम नागरिक, किसान, मजदुर तथा विपन्न वर्गको जीविकोपार्जन सहज हुने गरी तत्काल ठोस राहतका कार्यक्रम ल्याउनसमेत कांग्रेसले माग गरेको छ ।





































