काठमाडौं / दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन बिक्रीमा उल्लेख्य वृद्धि भएपछि संस्थानको वित्तीय अवस्था सुधार हुन थालेको छ।

बिक्री बढेसँगै लामो समयदेखि थन्किएको मौज्दात घट्नुका साथै कृषकलाई गरिने भुक्तानी पनि नियमित हुन थालेको संस्थानले जनाएको छ। डीडीसीका अनुसार केही महिनाअघि दैनिक करिब ६० लाख रुपैयाँ रहेको बिक्री आम्दानी हाल ९० लाख रुपैयाँको हाराहारीमा पुगेको छ। बिक्रीबाट प्राप्त अतिरिक्त आम्दानीलाई कृषक भुक्तानीमा प्राथमिकता दिइएको संस्थानको भनाइ छ। संस्थानमा लामो समयदेखि थन्किएको करिब ६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखन बजारमा पठाउन सफल भएको छ।

मौज्दात घटेपछि नगद प्रवाहमा सुधार आएको र त्यसको सकारात्मक प्रभाव समग्र वित्तीय व्यवस्थापनमा परेको जनाइएको छ।पछिल्लो तीन महिनामा कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटेर करिब ३५ करोड रुपैयाँमा झरेको छ। यससँगै विगतमा सात महिनासम्म पुग्ने भुक्तानी प्रतीक्षा अवधि अहिले दुईदेखि तीन महिनामा सीमित भएको छ। संस्थानले आगामी दिनमा यसलाई एक महिनाभित्र झार्ने लक्ष्य लिएको जनाएको छ।

डीडीसीले कृषक भुक्तानीलाई प्राथमिकतामा राख्दै अनिवार्यबाहेकका खर्च कटौती गरेको छ भने लामो समयदेखि उठ्न बाँकी रकम असुलीलाई पनि तीव्रता दिएको जनाएको छ। बजार विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं उपत्यकामा आठ वटा समर्पित बिक्री केन्द्र (डेडिकेटेड सेल्स काउन्टर) सञ्चालनमा ल्याइएको छ। ती बिक्री केन्द्रले उपभोक्तासम्म डीडीसीका उत्पादन सहज रूपमा पुर्‍याउन र बिक्री बढाउन सहयोग गरेको संस्थानको दाबी छ।

संस्थानले उत्पादनको बजार विस्तार, मौज्दात व्यवस्थापन र कृषकलाई समयमै भुक्तानी सुनिश्चित गर्दै हालको सुधारलाई दीगो बनाउने योजनामा काम गरिरहेको जनाएको छ।