बिर्तामोड / सशस्त्र प्रहरीले दशगजाबाट लागूऔषध र भारतीय रुपैयाँसहित ५ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचीनगर १० बस्ने २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम १ चौतारेडाँडा घर भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका डीएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन ।
भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बि ओ पी काँकडभिट्टाको टोलीले मेचीनगर ६ कालीमन्दिर स्थित नेपाल भारत सीमा पिलर ८८-७ नजिकैबाट बुधबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।
सशस्त्रले उनीहरूको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलम पाज़ ६३ चक्की, ९४ हजार ८ सय ६० भारतीय रुपैयाँ, ४ सय ३० नेपाली रुपैयाँ र एउटा मोबाइल बरामद गरिएको डीएसपी भण्डारीले बताएका छन ।
पक्राउ परेका पाँचै जनालाई लागूऔषध र नगदसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।