झापा / वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ ।

महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन ।

OM Sai Pathibhara Hospital

स्थानीय जनप्रतिनिधिको निर्वाचित अवधि चैतमा सकिने भएकाले आगामी वर्षको वैशाखमा निर्वाचन गर्ने लक्ष्यसहित काम थालिएको उनले जानकारी दिएका छन । थपलियाले भने, ‘‘२०७९ वैशाख २० गतेभित्रै निर्वाचन सम्पन्न गर्ने र समयमै नयाँ जनप्रतिनिधिहरू दिने विषयमा आयोग गम्भीर छ र छिट्टै नै स्थानीय तह निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने आयोगले तयारी गरिसकेको छ ।’’

२०७८ चैत ५ गतेभित्र ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुने जानकारी उनले दिए । स्थानीय तहका जनप्रतिनिधिको अवधि थप्ने कानुनी व्यवस्था अहिलेको मितिसम्म नरहेकाले स्थानीय सरकार रिक्त रहने कल्पना गर्न नसकिने प्रस्ट पार्दै उनले वैशाख २० गतेभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताएका छन ।

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति एवं उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने प्रक्रियामा आयोग प्रवेश गरिसकेको थपलियाले बताए ।

त्यसैले पनि अब आयोग निर्वाचनको पूर्वसन्ध्यामा प्रवेश गरेको मनसायका साथ महिला पत्रकारका लागि तालिम गरेर आयोगले आफ्नो निर्वाचनसम्बन्धी गतिविधि अघि बढाएको उनले सुनाएका छन ।

निर्वाचन गतिलो भयो भने मात्रै शासकहरू गतिला हुन्छन्, प्रतिनिधि गतिलो भयो भने मात्र हामीले गतिलो शासन पाउने हो, त्यसैले यो कुरालाई मनन गरिदिन थपलियाले आग्रह गरेका छन । उनले निर्वाचनका समयमा हुने दुष्प्रचार तथा गलत समाचारको हेक्का राख्दै निर्वाचनको मूल्य मान्यतालाई ध्यानमा राखेर सघाउन सञ्चारकर्मीलाई अनुरोध गरेका छन ।