लन्डन / गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।
मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका –६ का राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका –३ की शर्मिला तामाङ भनिने रमिला घले, तनहुँका घिरिङ् गाउँपालिका –५ का ओम बहादुर थापा र कैलालीका गौरीगंगा नगरपालिका –४ का लक्ष्मण सापकोटा रहेका छन् ।
ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटो मार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।
दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका –९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका –४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए ।
हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरूबाट नै गाडीमा अन्य चार जना नेपालीहरू पनि सवार रहेको खुल्न आएको थियो ।
गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।