काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । 

आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको हुनाले बैठक स्थगित भएको हो । उनी आयोगमा सदस्य छन् । 

OM Sai Pathibhara Hospital

नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका थिए । 

प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो । 

लोकसेवा आयोगले लिएको उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको थियो ।