जनकपुर  / नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । 

अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

OM Sai Pathibhara Hospital

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गरमएका छन् ।

यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 

प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।