झापा / नवलपरासी पूर्वमा सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजनालाई पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ  ।

गैँडाकोट नगरपालिका – १६, अमरापुरी स्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका उनीहरूलाई एकथान पेस्तोल र चार राउन्ड गोलीसहित सोमबार साँझ पक्राउ परेका हुन ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिमको रुपौलिया गाउँपालिका –१ बस्ने २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका –१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका –९ बस्ने २० वर्षीय सञ्जय गुरुङ रहेका छन् ।

ती महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका तीनजनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा रामबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय गैँडाकोट र अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो । अरूको खोजी गर्ने क्रममा गैँडाकोट नगरपालिका –१४ मा भाग्दै गरेको अवस्थामा सञ्जय गुरुङको साथबाट उक्त हतियार फेला पारी सञ्जय र आशिष समेतलाई पक्राउ गरिएको जनाइएको छ ।