काठमाडौं / चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटपिट गरेका छन ।
चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए ।
परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए । विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो ।
त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनी माथि कुटपिट गरेका छन् । पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए ।
विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए ।
घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ ।
विवादपछि परीक्षा स्थगित गरिएको छ ।