काठमाडौँ / नेकपा माओवादी केन्द्रले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको अध्यक्षमा सहयात्री निर्वाचित भएका छन ।

गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन । उनले १६२ मत ल्याएका थिए । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै प्रदेश समितिको उपाध्यक्षमा रूपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिएका छन ।

प्रदेश समितिमा नौ सदस्यीय पदाधिकारी रहने पार्टीको विधानमा व्यवस्था रहेको छ । प्रदेश समितिका सदस्यहरूमध्येबाट पदाधिकारी छनोट हुने व्यवस्था विधानमा छ । यसअघि माओवादीको दुई भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको नेतृत्व चयन भइसकेको छ ।

गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी तथा उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन भएको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

प्रदेशको नेतृत्वका आकांक्षी बढी हुँदा नेतृत्व चयनमा ढिलाइ हुँदै आएको थियो । माओवादीले गत मङ्सिर २५ गते एकसाथ सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन सम्पन्न गरेको थियो ।

पाँच प्रदेशमा नेतृत्व चयन बाँकी

प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा पनि माओवादीले अझै पाँच प्रदेशको नेतृत्व टुङ्गो लगाउन सकेको छैन । प्रदेश नं १, प्रदेश नं २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्वविहीन बनेका छन् । सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुङ्गो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव ढकालले जानकारी दिएका छन ।

सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ ।