सुर्खेत / जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले दाङबाट सञ्चालित राप्तीपश्चिम डटकमका सञ्चालक एग्गेबहादुर बुढामगरलाई उक्त सजाय तोकेको हो ।
बुढामगरले पीडित युवतीहरूको तस्वीर र नामसहित आफ्नो अनलाइनमा समाचार प्रकाशित गर्नुका साथै पीडकको तर्फबाट बहस गरेका वकिलहरूको विरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए।
बुढामगरले फेसबुकमा लेखेका थिए, – ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरूको जिरहलाई निरह पर्नेगरी सवालको जवाफ दिएको छु।’
पीडकका तर्फबाट वकालत गर्ने वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरि अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरूविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।
संवेदनशील विषयमा समाचार सामग्रीहरू प्रकाशन–प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।
राउटे समुदाय गुर्भाकोट नगरपालिका –९ स्थित आँपसोतीमा बसेका बेला युवतीमाथि बलात्कार भएको हो। जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबर्जस्ती मदिरा सेवन गराएर युवाहरूले यौनजन्य क्रियाकलाप गरेका थिए।
उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो। युवतीमाथि जबर्जस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बूढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ।