जनकपुर  / नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ ।

विवादका कारण रोकिएको २ नम्बर प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशनपछि आजदेखि हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

कांग्रेसले अन्य छ प्रदेशमा भने अधिवेशन गरिसकेको छ । महाधिवेशन अघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा क्रियाशील सदस्यकाे विवाद समाधान नहुँदा २ नम्बर प्रदेशको अधिवेशन रोकिएको थियो । 

जिल्लामा भएको विवादका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते निर्णय गरेको थियो । सोही अनुरूप अधिवेशन आज र भोलि हुने भएको हो ।

अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ।

प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन् । आज उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने बुधबार मतदान हुनेछ । 

प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव, रौतहट कांग्रेसका सभापति कृष्णा यादव र सिरहाका नरेश यादव प्रदेश सभापति पदका आकांक्षी छन्। 

प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरू प्रदेश पुगेका छन् । प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्।