काठमाडौँ / विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन् । 

अध्यक्ष मिश्रले गत मंसिर २९ गते पाण्डेलाई स्पष्टीकरण दिन भन्दै पत्र पठाएका थिए । (आज) सोमबार पाण्डेले उक्त स्पष्टीकरणको जवाफ लेख्दै मिश्रलाई १० बुँदे लिखित प्रतिप्रश्न पठाएका हुन् ।

OM Sai Pathibhara Hospital

पाण्डेले अध्यक्ष मिश्रलाई राजतन्त्र मान्न नसकिने, पञ्चायत पुज्न नसक्ने र धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न नसक्ने उल्लेख गर्दै गणतन्त्रको पक्षमा आफूहरू उभिएको प्रष्टिकरण दिएका छन्।

स्पष्टीकरणमा पाण्डेले निर्वाचन आयोगमा पार्टी बारेमा मुद्दा चलिरहेको र त्यसमा छिनोफानो नभए आफूहरू अदालत जाने र भदौ १७ पछिका कुनै पनि गतिविधि नस्वीकार्ने बताएका छन्।

उनले मिश्रमाथि जुममार्फत बसेको केन्द्रीय समिति बैठकमा फेक आइडी राखेर बहुमत जुटाएको आरोपसमेत लगाएका छन् । 

उनले मिश्रलाई सम्बोधन गर्दै भनेका छन्, –‘तपाईंले जुम बैठकमा आएका–नआएका सबैको नाम राखेर निर्वाचन आयोगमा आफूसँग दुई तिहाइ छ भनेर गलत दस्तावेज बुझाउँदैमा तपाईंसँग दुई तिहाइ छ भन्न मिल्दैन ।’ 

पाण्डेले मिश्रलाई प्रश्न गरेका छन्, ‘तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागि परेका खासगरी दक्षिणी शक्ति केन्द्रहरू र अकुत सम्पत्ति आर्जन गरेका पूर्व दरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको भन्ने चर्चा सुनिन आएको छ, त्यसको सत्यता के हो ?’