बिर्तामोड / पूर्व पश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ ।
प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा पूर्व पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको सडकमै आँखा र दाँतको जाँच गरिएको हो ।
जाँच शिविरमा चालक १११, सहचालक १७ र सर्वसाधारण २६ गरी १५४ जनाको निःशुल्क आँखा र दाँतको जाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
जाँच गरिएका चालक मध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको कलर छुट्टयाउँन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
यस्तै, दाँत जाँच गरिएका चालक मध्ये अधिकांशमा दाँतको समस्या देखिएको र पानपराग तथा गुटखा खाने गरेको पाइएको उनको भनाइ छ ।
लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्यासमेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।