काठमाडौँ / नेपाली कांग्रेसको १४औँ  महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य खुलातर्फको ३५ सिटको मतगणना सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा. शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै केन्द्रीय सदस्यमा एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शङ्कर भण्डारी, जीपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा र नैनसिंह महर निर्वाचित भएका छन् ।

यसैगरी दिलेन्द्रप्रसाद बडु, डा रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुङ्गाना, गुरु बराल, संजय कुमार गौतम, प्रा. डा. गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, इन्जिनियर मोहन आचार्य, डा गोपाल दहित र कृष्णकिशोर घिमिरे मतसहित निर्वाचित भएको समितिले जनाएको छ । 

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । 

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ ।