झापा / पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ ।
अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो ।
एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्थानान्तरण गरेको थियो ।
उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ ।
बालगृह सञ्चालक सुनिता चनाराका छोरा २२ वर्षीय कुश्माकर चनाराले १३ वर्षीया बालिकामाथि बलात्कार गरेर गर्भ समेत रहेको सार्वजनिक भएपछि उक्त बालगृहका बालबालिकालाई अन्यत्रै सारिएको हो ।
नगरपालिकाको न्यायिक समितिमा पीडित बालिकाले बलात्कार भएको बताएकी थिइन् । स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा गर्भ रहेको पुष्टि भएको थियो ।
त्यसलगत्तै नगरपालिकाले प्रहरी र प्रशासनलाई चिठी लेखेर कारबाही गर्न पत्राचार गरेको थियो । घटनालगत्तै फरार रहेका चनारालाई अझै पक्राउ भने गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले चनाराको खोजी भइरहेको बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ । बाल गृहमा १४ बालबालिका थिए ।
जसमध्ये पीडित बालिका र उनका भाइले घटना लगत्तै बालगृह छाडिसकेका थिए ।
बाँकीलाई पनि पठनपाठनको व्यवस्थासहित काठमाडौं पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिएका छन ।