काठमाडौं / वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न सरकारले शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरेको छ ।
सरकारले वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्यापीड रेस्पोन्स टीम गठन गरेको हो ।
वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा उक्त टिम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उक्त टिमले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ–संस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानबिन गर्ने, आवश्यक निर्देशन दिने तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।
र्यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।