झापा(एजेन्सी) भारतको लखिमपुरखिरीमा बस दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच नेपाली घाइते भएका छन् ।
धनगढीको अछामबाट भारतको राजकोट जाँदै गरको युपी ०३३० पी १३७५ नम्बरको बस शुक्रबार उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
जोशीका अनुसार दुर्घटनामा परी अन्य पाँच जना नेपाली घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।