काठमाडौं / नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए ।
उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा. रावलको परामर्श बमोजिम हुने स्पष्ट पारे । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहोरालाई चयन गरेको थियो ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन पछिकाे केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ ।
अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।