झापा  / नेपाली यु–१९ महिला फुटबल टोलीले शुक्रबार (आज) भुटानविरुद्ध खेल्दैछ ।  

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । 

OM Sai Pathibhara Hospital

दुई खेल सकिँदा भारत ६ अंकका साथ शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान चार अंक छ । भुटानले पनि यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो । 

भुटान बङ्गलादेशसँग ६–० तथा भारतसँग ५–० ले पारजित भएको थियो । श्रीलंकाले भने एउटा खेल पनि जित्न सकेको छैन । 

उपाधि होड कायम राख्न नेपाललाई बाँकी खेल जित्नै पर्नेछ । नेपालले आज भुटानसँग, आइतबार भारतविरुद्ध खेल्न बाँकी छ । 

राउण्डरोबिन लिग पद्धतीमा खेलाइएको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल पहिलो संस्करणको उप विजेता टोली हो । बंगलादेश गत संस्करणको विजेता टोली हो । 

नेपालले भुटानविरुद्ध बंगलादेशको ढाकास्थित बीर श्रेष्ठ शाहीद शाइपही मोस्तफा कमल रङ्गशालामा नेपाली समयअनुसार साँझ सात बजे खेल्नेछ । 

सोही मैदानमा त्यसअघि आयोजक बंगलादेश र भारतले पनि प्रतिस्पर्धा गर्दैछन् । बंगलादेश र भारतको नतिजाले पनि नेपालको फाइनल खेल्ने समीकरणमा फरक पार्नसक्छ ।