काठमाडौँ  / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका विभिन्न विभागका प्रमुख र प्रदेशदेखि जिल्लाका इन्चार्ज र अध्यक्षको टुंगो लगाएको छ । 

केन्द्रीय कमिटी बैठक पश्चात अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले विभिन्न नेताहरूको कार्यविभाजन गरेको हो । 

OM Sai Pathibhara Hospital

जसअनुसार बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ । 

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् । महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् । 

त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाश विभाग, उपमहासचिव विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन र स्थायी कमिटी सदस्य घनश्याम भुसालले अर्थ तथा योजना विभागको जिम्मा पाएका छन् ।

सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाएका छन्।