काठमाडौं / पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि उच्च पहाडी भुभाग तथा हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको उनको भनाइ छ।
सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।