बिर्तामोड / साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार सानदार जित निकालेको छ । नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गराएको छ ।

पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशको ढाकास्थित वप्र श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालको फराकिलो जितमा रश्मि कुमारी घिसिङले २ तथा सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले समान १ गोल गरिन् ।

OM Sai Pathibhara Hospital

गोलको वर्षा भएको खेलमा नेपालले खेलको पाँचौ मिनेटमा रश्मिको गोलबाट अग्रता लिएको थियो । लगत्तै छैटौँ मिनेटमा सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ४३ औं मिनेटमा मेनुकाले गोल गरेपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो ।

४८ औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४–० ले अघि बढाइन् । ५३ औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाइन् । ८५ औं मिनेटमा रश्मिले गोल गर्दै नेपालको फराकिलो जित पक्का गरिन् ।

जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ । समान ४ अंक नै रहेपनि नेपाल बङ्गलादेशसँग पछि छ । पराजित श्रीलंकाले तीन खेल खेल्दा अङ्कको खाता खोल्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटानसँग तथा दोस्रो खेलमा भारतसँग समान ५–० ले पराजित भएको थियो ।