काठमाण्डौ / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना बिहीबार बिहान १०ः२० बजेबाट सुरु भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले  पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना सुरु भएको र ६ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए  ।

कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरू गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा। मीनेन्द्र रिजाल, डा। राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

सभापति बाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९ , प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९ , आदिवासी–जनजाती १५, खस–आर्य १३, मधेसी ९ , थारु ४ , मुस्लिम ३ , पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यक बाट १ , अपाङ्बाट १ सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।