काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका गरेका छन् ।

ओलीले प्रचण्डले ज्ञानेन्द्र शाहसँग ५ बुँदे सहमति गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । ओलीले शेयर बजारका विषयमा समेत प्रचण्डको अभिव्यक्तिलाई व्यंग्य गरेका थिए ।

विहीबार प्रचण्डले विज्ञप्ति निकालेरै ओलीको भनाइको प्रतिवाद गरेका छन् ।

प्रचण्डले ओलीलाई दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिको संज्ञा समेत दिएका छन् । ओलीलाई झूट, बेइमानी र धोकाको अर्को नामको संज्ञा अध्यक्ष प्रचण्डको विज्ञप्तिमा दिइएको छ ।

यस्तो छ विज्ञप्ति :
दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म, के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।