बिर्तामोड / निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गरी निर्वाचन प्रयोजनका लागि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको हो।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । रिक्त हुने पदमा एक मनोनित बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेकपा (एमाले)का ८ , नेकपा (एकीकृत समाजवादी)का ४ , नेकपा (माओवादी केन्द्र) का ४ र नेपाली कांग्रेसका ३ सदस्यको फागुन २१ मा कार्यकाल समाप्त हुनेछ ।

राष्ट्रपतिबाट विषय विज्ञका रूपमा मनोनित सदस्य रामनारायण बिडारीको पनि सोही मितिमा कार्यकाल सकिदैछ

२०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । चारवर्षे पदावधि सकिनेमा ७ महिला, ३ दलित समुदाय, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट २ र अन्य समुदायका ७ सदस्य छन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनु पर्ने व्यवस्था छ ।

कांग्रेस महाधिवेशन अघि सत्तारुढ पाँच दलीय गठबन्धन बिच राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको थियो ।