काठमाडौँ / काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् ।

OM Sai Pathibhara Hospital

दीक्षित हुनेमा स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ जना रहेका छन् । 

साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्। 

दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन्। यसैगरी बङ्गलादेश, बेनिन, नेदरल्यान्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका १२३ जना विद्यार्थी दीक्षित भएका हुन्। 

यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ लाई विश्वविद्यालयले पहिलोपटक उपाधि प्रदान गरेको हो। 

विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधि प्रदान गरेको थियो। 

विश्वविद्यालयबाट हालसम्म स्कुल अफ आर्टस्का तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६२८, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४, स्कुल अफ ल का ११६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६, स्कुल अफ मेडिकल साइन्सेज्का १७ हजार ६९३ र स्कुल अफ साइन्स्का तीन हजार ३९१ गरी कूल ३६ हजार ६२४ दक्ष विद्यार्थीलाई उपाधी प्रदान गरिसकेको जनाइएको छ।