विराटनगर / प्रदेश –१ का मुख्यमन्त्री राजेन्द्र राई आज (बुधबार) सरकारी निवासमा सरेका छन् ।

कात्तिक १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका राई आज सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनमा सरेका हुन् । 

OM Sai Pathibhara Hospital

मुख्यमन्त्रीमा नियुक्त भएपछि राई राष्ट्र बैङ्क विराटनगरको गेस्ट हाउसमा बस्दै आएका थिए । आज बिहानदेखि सरकारी निवासमा बस्न सुरु गरेका उनले खर्च कटौती गर्ने उद्देश्यले सरकारी निवासमा प्रवेश गरेको बताए । 

आयोजनाको उक्त भवनमा यसअघि प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र पूर्वमन्त्री उषाकला राई बसिसकेका छन् । 

यसअघिका मुख्यमन्त्री शेरधन राईले निजी भवन भाडामा लिएर बसेका थिए । सरकारले निवासको प्रयोजनको लागि गरेको सम्झौतापछि रद्द गरेर राई आफैँ बस्ने भएपछि नवनियुक्त मुख्यमन्त्रीलाई निवास अभाव भएको थियो । 

गृहप्रवेश गर्दै राईले अघिल्लो सरकारले ठूलो रकम मासिक भाडा तिर्ने गरी काठमाडौंमा सम्पर्क कार्यालय खोलेकोमा त्यो सम्झौता रद्द गरेको बताए ।