धनुषा  / प्रदेश नं २ को प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार)का लागि संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । 

OM Sai Pathibhara Hospital

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेश २ मा चारदलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको हो । जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश २ सरकारलाई दुई तिहाइभन्दा बढी प्रदेश सभासदको समर्थन छ । 

जसपाको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी छन् । गठबन्धन दलहरूबीच भने प्रदेशको नाम र राजधानीको विषयमा सहमति भएको छैन् । 

प्रदेश २ सभामा जसपाको ३९, नेपाली काँग्रेसको १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, माओवादी केन्द्रको र नेकपा एमालेको आठ/आठ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना गरी १०४ जना प्रदेश सभासद छन् ।
प्रदेशको राजधानी जनकपुरधाम कायम गरिनेमा प्रायः सबै दलहरू सहमत नै छन । त्यसैले यस अधिवेशनबाट राजधानी पारित हुने सम्भावना छ ।