बिर्तामोड  / नेपाली कांग्रेसको काठमाण्डौमा जारी महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन सुरु हुने समयमा आईपुग्दा सभापति पदका उमेद्धार देउवा आफ्ना सबै विरोधीलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।

देउवाको नेतृत्व असफल बनेको भन्दै उनको विकल्पका लागि चुनावी प्रतिष्पर्धामा होमिएका नेताहरू प्रकाशमान सिंह , विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई सहयोग गर्ने घोषणा गरेपछि सभापतिका दाबेदारका रुपमा हेरिएका डा. शेखर कोइराला एक्लिएका छन् ।

दोस्रो चरणमा हुने मतदानमा सिंह र निधिको कोइरालालाई सहयोग हुने भनेर गरिएका सबै अनुमानलाई गलत साबित गर्दै देउवा आफ्ना विरोधी समुहलाई समेत आफ्नो पक्षमा पार्न सफल भएपछि कोइरालालाई सभापति हुन कठिन हुने भएको छ ।

पहिलो चरणको निर्वाचन अघि देउवालाई जसरी पनि हराउने दोस्रो चरणमा जाँदा देउवा विरोधी गठबन्धन बनाउने घोषणा गरेका नेता निधी , सिंह , विश्वप्रकाश शर्मा र कोइराला परिवारकै सदस्य शेखर कोइरालाकी बहिनी सुजाता समेत देउवाको पक्षमा खुल्दा शेखरलाई विजयका लागि कठिन अवस्था बनेको छ ।

पार्टी भित्र बलियो प्रभाव राख्ने नेता रामचन्द्र पौडेल र शेखरका भाइ समेत रहेका शसांक कोइराला समेत प्रष्ट नखुल्दा शेखर समस्यामा परेका हुन् । परिवार भित्रकै सदस्यको साथ गुमाएको शेखरले दोस्रो चरणको निर्वाचनमा देउवासँग प्रतिष्पर्धा गर्ने नगर्ने विषयमा भने अझै सो समूहले कुनै निर्णय गरिसकेको छैन ।

आज मंगलबार तिन बजेबाट सुरु हुने मतदान अघि सो विषयमा निर्णय गर्न कोइराला समूहको बैठक बसिरहेको छ । बैठकमा सहभागि नेताहरूका पनि दोस्रो चरणका विषयमा फरक फरक धारणा आएका छन् । केही नेताले निर्वाचनमा जाँदा सिंह र निधिलाई मत दिने महाधिवेशन प्रतिनिधिले कोइरालालाई मत दिने सम्भावना रहेकाले निर्वाचनमा जानुपर्ने राय राखेका छन् ।

केही नेताले भने कोइराला परिवारकै सदस्य शसांक खुल्न नसेकेको र सुजाता विरुद्धमा लागेका बेला आफ्नो समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत मौन बसिदिएकाले निर्वाचनमा जान नहुने राय व्यक्त गरेको बैठकमा सहभागि एक नेताले जानकारी गराएका छन् ।

कांग्रेसको यो पटकको महाधिवेशन सुरु हुँदा पुस्ता हस्तान्तरणको विषय पेचिलो गरी उठेको थियो । सभापतिका लागि दोस्रो चरणमा जाने अवस्था आएपछि भने पुस्तान्तरणको विषय भन्दा कांग्रेस भित्रको पुरानो इतिहास बल्झिएको संकेत देख्न थालिएको छ ।

विगतमा गिरिजा प्रसाद कोइरालाका कारण आफ्नो र आफ्नो परिवारको राजनीति सिध्एिकाले सो परिवारका सदस्यलाई पार्टीको शिर्ष नेतृत्वमा लान नहुनेमा सिंह र निधि उभिएपछि देउवाका लागि सहज बनेको विष्लेषण गर्न थालिएको छ ।

गणेशमान सिंह र महेन्द्र नारायण निधिको रणनिति कोइराला परिवारका कारण माथि उठ्न नसकेको विषयलाई देउवा समूहले पेचिलो गरी उठाएछि उनीहरु देउवालाई सहयोग गर्न तयार बनेको समेत वताईन्छ ।

काठमाण्डौमा जारी महाधिवेशनमा नेतृत्वका लागि यो पटक देखिएका खेलले विगतमा कोइराला परिवारका कारण पछि परेका नेताहरू सबै एक भएको संकेत देख्न थालिएको छ  ।

सभापतिका उमेद्धार शेखर कोइरालालाई पाकिस्तान र चिनको सहयोग रहेको बुझाईका कारण पनि अमेरिका , युरोपेलि युनियन र भारतको सहयोगको देउवालाई नै हुने अवस्था आएको समेत मानिएको छ । महाधिवेशन पछि सत्ता भागवन्डा , भावी चुनाव र पार्टीमा भूमिकाका विषयमा लेनदेन समेत मिलेकाले देउवा विरोधी सबै देउवालाई सहयोग गर्न तयार भएको नेताहरुले बताएका छन् ।

तर देउवा निकट नेता बालकृष्ण खाडले भने सत्ता र शक्ति बाँडफाडका विषयमा कुनै समझदारी नभएको दावी गरेका छन् । विगतका गल्ती नदोहोर्याउने र नेतृत्व हस्तान्तरणका विषयमा मिलेर जाने समझदारी भएकाले देउवालाई सहयोग गर्न निधि र सिंह तयार भएको खाँणले बताएका छन् ।