बिर्तामोड / कांग्रेसको महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन समय तोकिएपछि अप्रत्याशित राजनीतिक खेल हुन थालेका छन् ।

पार्टी सभापतिमा शेरबहादुर दोहोरिन नदिने घोषणा गरेका सभापति पदमा नै देउवासँग प्रतिष्पर्धा गरेका नेता विमलेन्द्र निधिले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने भएका छन् ।

पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा रहेका निधीले पहिलो चरणको निर्वाचन अघि दोस्रो चरणमा देउवा विरुद्ध गठबन्धन बनाएर उनलाई पराजित गर्ने घोषणा गरेका थिए । पहिलो चरणबाट बाहिरिएका निधिले अप्रत्याशित रुपमा देउवालाई नै सहयोग गर्ने बचन दिएपछि निर्वाचन रोचक हुने भएको छ ।

यसअघि सभापति पदमा उमेद्धार बनेका नेता सिंहले पनि देउवालाई सहयोग गर्ने सार्वजनिक रुपमा नै घोषणा गरेका छन् ।

सभापतिका दुई उमेद्धार सिंह र निधिको सहयोग पाउने भएपछि सभापतिका अर्का उमेद्धार देउवा भन्दा कमजोर हुन पुगेका छन् । पार्टी भित्र पैदा भएका सबै समूहको साथ देउवालाई हुने अवस्था आएकाले शेखर कोइरालालाई विजय समेत कठिन बन्दै गएको छ ।

निधी र सिंहको इच्छा अनुसार उनीहरूलाई मतदान गर्नेले समेत मतदान गरेको अवस्थामा देउवा दोहोरिने निश्चित भएको छ । तर विगतमा आफूले गरेका घोषणा र बचन पालना नगरेको भन्दै महाधिवेशन प्रतिनिधिले देउवालाई मत नदिने सम्भावना पनि यथावत रहेको छ ।

सत्ता स्वार्थका कारण उनीहरु बिच मिलेमतो भएको भन्दै कोइराला समूहले प्रचार थालेकाले देउवालाई विजयका लागि अवस्था अझै पनि कठिन नै रहेको छ ।