बिर्तामोड / नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका उमेद्धार शेरबहादुर देउवाले आफ्नो समुहबाट नै बाहिरिन बाध्य पारेका महामन्त्रीका उमेद्धार विश्व प्रकाश शर्माले देउवालाई नै सहयोग गर्ने भएका छन् ।

सभापतिको दौडबाट बाहिरिएका नेता प्रकाशमान सिंह पक्षबाट महामन्त्रीमा उमेद्धार बनेका नेता शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत देउवालाई सहयोग गर्ने जानकारी गराएका हुन् ।

पार्टी नेतृत्वका लागि निर्वाचन हुने भएपछि नेता देउवाले सिटौला समूहसँग गठबन्धन गर्दा नेता शर्मा उनीसँग रुष्ट हुँदै सिंह समूहमा पुगेका थिए । सिटौला समूहका नेता प्रदिप पौडेललाई उमेद्धार बनाएर देउवाले शर्मालाई उमेद्धार हुनबाट बञ्चित गराएका थिए ।

आफ्नो समूहका नेता सिहले देउवालाई सहयोग गर्ने निर्णय गरेकाले आफ्नो पनि सो निर्णयमा समर्थन रहने उनले बताएका छन् । आफ्नो समूहको नेता प्रकाशमान सिंह रहेकाले पराजित भएपनि उनले गरेको निर्णयमा आफ्नो साथ रहने शर्माले बचन दिएका हुन् ।

सभापतिका अर्का प्रत्यासी शेखर कोइराला समूहले भने राजनीतिमा देखिने भन्दा नदेखिने गरी खेल हुने भएकाले शर्माको सहयोग कोइरालालाई नै रहने दावी गरेको छ । आफ्नो राजनीति सिध्याउन लागेका सिटौला र देउवालाई सहयोग गर्न शर्माले नसक्ने भएपनि आफ्नो समुहका नेता सिंहको मानमर्दन नगर्नका लागि शर्माको यस्तो भनाई आएको कोइराला पक्षको बुझाई रहेको छ ।